काठमाडौं– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आजदेखि मौसम क्रमिकरुपमा सुधार हुँदै जाने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्। तत्कालै नयाँ मौसमी प्रणालीको विकास हुने सम्भावना नरहेकाले पनि आगामी दिनमा मौसम सुधार हुने उनको भनाइ छ।
महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम ६ र अधिकतम तापक्रम ८ डिग्री सेल्सियस छ। वितेको २४ घण्टामा काठमाडौंमा ३५ मिलिमिटर वर्षा भएको छ। सो अवधिमा भैरहवामा ४१, पोखरामा ३१ र घोराहीमा ३१ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।