काठमाडौं- नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली स्वदेश फर्किएको छ। बंगलादेशमा मंगलबार सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको विजेता महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्किएका हुन्।
महिला र पुरुष टोलीमा समान १२ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापक छन्। यता, पुरुष टोलीका मुख्य प्रशिक्षक हान एबिङ भने बंगलादेशबाटै आफ्नो देश नेदरल्यान्ड्स फर्किएका छन्। उनलाई बुधबारै नेपाल भलिबल संघका पदाधिकारीले बंगादेशमै बिदाइ गरेका थिए। उनी फिभको सहयोगमा नेपाली पुरुष टोलीलाई प्रशिक्षण दिन मंसिर पहिलो साता नेपाल आएका थिए।
नेपालले बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै दोस्रोपटक उपाधि रक्षा गर्न सफल भएको थियो।
यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो। पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक विहीन बन्न पुगेको थियो।
नेपाल भलिबल संघले बिहीबार दिँउसो १ बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा बधाइ तथा शुभकामनाको कार्यक्रमा राखेको छ।
सरकारले विजेता टोलीका १२ खेलाडीलाई जनही ५ लाख, दुई प्रशिक्षकलाई समान ३ लाख र एक व्यवस्थापकलाई २ लाखसहित सम्मानित गर्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।