काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ।
उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्।
देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो। हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम आठ दशमलव एक डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।