काठमाडौं– नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा १ वर्ष अवधिका लागि लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कुल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो।
बैंकले उक्त रकम २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो। राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी पुस १८ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ।
यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।
त्यसैगरी, निक्षेप लिनका लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने उल्लेख छ।
यस्तै, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने ,शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेजस्ता शर्त तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।