काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि पुनः आवेदन खुला भएको छ। नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट गर्न पुनः आवेदन खुला गरेको हो।
अर्थमन्त्रालयले पुस २९ गतेभित्र आवेदन गर्न नयाँ सूचना निकालेको हो। यसअघि गठित छनौट समितिको वैधतामाथि प्रश्न उठेपछि मन्त्रिपरिषद् बैठकबाट नयाँ समिति गठन भएको हो। नयाँ छनोट समितिको नेतृत्व पनि योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले नै गरेका छन्। समितिमा अर्थ सचिव मधु मरासीनी र विज्ञ सदस्यमा डा जीवनाथ भुसाल रहेका छन्।
कात्तिक ७ गते गठन भएको पूर्व समितिले आह्वान गर्दा १२ जनाले आवेदन दिएका थिए । अब उनीहरुलाई समेत पुनः आवेदन दिन भनिएको छ । पुरानो आवेदन फिर्ता लिन चाहेमा भने आगामी १५ दिनभित्र फिर्ताका लागि निवेदन दिन सकिन्छ।
यसअघि बोर्ड अध्यक्ष बन्न बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, उप कार्यकारी निर्देशक डा नवराज अधिकारी, बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा गोपाल भट्टले आवेदन दिएका थिए।
यस्तै, नेप्सेका पूर्व सीईओ सीताराम थपलिया, पूर्वएनआरएन रमेश हमाललगायतले पनि बोर्डको अध्यक्ष बन्नका लागि आवेदन दिएका थिए। सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणका कारण भीष्म ढुंगाना वर्खास्त भएपछि बोर्ड नेतृत्वविहीन छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।