काठमाडौं- माओवादी केन्द्र महाधिवेशनको पाँचौ दिन वाँकी रहेका १४ समूहको रिपोर्टिङ प्रस्तुत गर्नेक्रम सुरु भएको छ।
नेकपा माओवादीको महाधिवेशन अन्तर्गत जारी बन्दसत्रको पाँचौ दिनको कार्यक्रम सुरु भएको छ। आइतबारदेखि जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहगत टिप्पणी प्रस्तुत भइरहेको छ।
२५ वटा समूह बनाएर गरिएको छलफलमा ११ वटा समूहले बुधबार आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहको रिपोर्टिङ बिहीबार विहान सवा ११ बजेपछि सुरु भएको छ। सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ।
बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।
यसअघि बिहीबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेमा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसी रहेका छन्। बाँकीले आज प्रस्तुतीकरण गर्ने छन्।
आज सबै रिपोर्टिङ सकिएर अध्यक्षले जवाफ दिन भ्याएमा निर्वाचन प्रक्रियामा जाने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ। २९९ केन्द्रीय समिति बनाइने र अध्यक्षसहित पदाधिकारी चयन गरेर महाधिवेशन सक्ने तयारी माओवादीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।