काठमाडौं– देशभरको मौसम क्रमिक रुपमा सुधार भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर नै बदली तथा वर्षा र माथिल्लो पहाडी क्षेत्रमा हिमपात भएको थियो।
पश्चिम तथा मध्य क्षेत्रका अधिकांश भागमा मौसम सुधार हुँदै गएको अन्यत्र पनि विस्तारै सुधार हुँदै जाने मौसमविद् मञ्जु बासीको भनाइ छ। दिउँसो काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा पारिलो घाम लाग्ने उनको भनाइ छ।
हालको मौसमी प्रणाली सुधार हुने क्रममा रहे पनि केही स्थानमा भने बदली तथा वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ।
अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ।
मौसम सुधारिँदै गए पनि देशभर चिसो बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।