काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौमा जारी छ। आइतबारदेखि जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहगत टिप्पणी प्रस्तुत भइरहेको छ। २५ वटा समूह बनाएर गरिएको छलफलमा ११ वटा समूहले बुधबार आफ्नो निष्कर्ष प्रस्तुत गरेका छन् भने बाँकी समूहले आज आफ्नो टिप्पणी प्रस्तुत गर्नेछन्। सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ।
बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेमा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसी रहेका छन्।
समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार दिउँसो सवा १ बजेबाट बन्द सत्रमा सुरु भएको थियो। राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो।
बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र पुनःसञ्चालन हुनेछ। बाँकी रहेका समूहले भोलि बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्।
यसअघि आज सकिने भनिएको महाधिवेशन एक दिन लम्बिने भएको छ। बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले महाधिवेशन शुक्रबारमात्र समापन हुने नेता शक्तिबहादुर बस्नेतले बताए।
आजै अध्यक्षले जवाफ दिन नभ्याउने भएकाले महाधिवेशनको समय लम्बिने उनले बताए। अध्यक्षको जवाफपछि समुदायगत कलस्टरको प्रतिनिधित्व गर्नेगरी २९९ केन्द्रीय समिति बनाइने र अध्यक्षसहित पदाधिकारी चयन गरेर महाधिवेशन सकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।