काठमाडौं– हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ। सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए।
राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ। यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ।
हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।