काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।