काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारजस्ता मौलिक पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन्।
गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने गर्छन्।
तमु ल्होसार पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमंग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।
‘मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ।
राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।