काठमाडौं– सरकारले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला टोलीका खेलाडीहरुलाई जनही पाँच लाख दिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। यस्तै, दुई प्रशिक्षकले जनही तीन लाख र एक अफिसियलले दुई लाख पाउने छन्।
नेपालले मंगलबार बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै दोस्रोपटक उपाधि रक्षा गर्न सफल भएको थियो।
यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो। त्यो नै नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
नेपालले राउन्ड रोविनको आधारमा भएको लिग चरणका सबै पाँच खेल जितेर उपाधि रक्षा गरेको हो। पहिलो खेलमा श्रीलङ्काविरुद्ध २-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले ३-२ ले खेल जितेको थियो।
त्यसपछि माल्दिभ्स, बंगलादेश, उज्बेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराएर नेपाल शीर्षस्थानमा रहँदै फाइनलको यात्रा तय गरेको थियो।
एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको अन्तर्राष्ट्रिय वरीयताक्रम अनुसार दोस्रो तहको प्रतिस्पर्धा हो। महिला भलिबलमा नेपाल वरीयता सूचीको ८७औं स्थानमा छ।
नेपाली टोलीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा उपविजेता बनेको थियो। उक्त प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।
महिला टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी, जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र ज्योति केसी (व्यवस्थापक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।