फुङलिङ– ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। मंगबारदेखि सुरु भएको वर्षासँगै हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो। मंगलबार साँझदेखि सुरु भएको वर्षा अहिलेसम्म निरन्तर जारी रहेको र हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी छ।
स्थानीयका अनुसार उच्च डाँडाहरुमा बाक्लो हिमपात भएको छ भने जिल्ला हिमाली बस्तीहरु ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्लालगायतमा हिउँ परेको स्थानीयले बताएका छन्। ओलाङ्चुङगोलामा झण्डै एक फिटसम्म हिउँ थुप्रेको स्यानीयको भनाइ छ।
यस्तै, घुन्सा र फलेमा पनि बाक्लो हिउँ परेको घुन्साका स्थानीय पेमा शेर्पाले बताए। शेर्पाका अनुसार घुन्सामा एक फिट बढी हिउँ थुप्रेको छ। जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४,२०० मिटर) मा पनि निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन्।
हाल वर्षा र हिमपातको क्रम जारी रहेकाले हिमाली क्षेत्रभन्दा अझ तलसम्म हिउँ आइपुग्ने सम्भावना बढेको स्थानीयको भनाइ छ। तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि निक्कै बाक्लो हिउँ परेको छ। पाथीभरा क्षेत्रको फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतका अनुसार पाथीभरा धाम क्षेत्रमा करिब दुई फिटसम्म हिउँ थुप्रेको जानकारी दिए।
यसरी जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हुँदा चिसोले जिल्लाको जनजीवन प्रभावित बनेको छ । चिसोले सदरमुकाम फुङ्लिङ बजारसहित सिङ्गो जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ। जिल्लाको न्यूनतम तापक्रम भने बुधबार बिहान ४ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।