काठमाडौं– हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ।
हिमपातका कारण अधिकांश पहाडी राजमार्ग अवरुद्ध भएका छन् भने नियमित उडान समेत सञ्चालन हुन सकेका छैनन्। फुलचोकी, शिवपुरी चन्द्रागिरिलगायत काठमाडौं आसपासका डाँडाहरुमा बिहानैदेखि हिउँपरिरहेको छ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई उडान तथा यातायातसमेत अवरुद्ध भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
मौसममा आएको बदलावका कारण काठमाडौंबाट हुने आन्तरिक उडान बुधबार प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्मचारीले सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन नसकेको जनाएको छ।
त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ। आजका लागि १३७ वटा उडान रहेको छ। तर, प्रतिकूल मौसमका लागि धमाधन उडान रद्द भइरहेको उड्डयन कार्यालयले जनाएको छ।
यसैगरी, धनगढी, भद्रपुर, सिमरा, नेपालगञ्ज, जनकपुर, भैरहवा, सुर्खेत, विराटनगर र भरतपुरमा उडान भइरहेको छ भने पोखरा र लुक्लामा भने उडान हुन नसकेको कार्यालयले जनाएको छ।
यता, एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन्।
आज काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।