काठमाडौं– बुधबार दिनभर नै देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपात हुने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार भित्रिएको सो प्रणालीका कारण सोमबारदेखि देशभर नै तापक्रम घट्दो क्रममा रहेको थियो। बिहीबार दिउँसोदेखि भने मौसममा हल्का सुधार आउने महाशाखाले जनाएको छ।
मंगलबार रातिदेखि नै देशका पहाडी तथा उच्च हिमाली भेगमा अन्य दिनभन्दा बढी वर्षा र हिमपात भएको छ। यो क्रम बुधबार रातिसम्म जारी रहने महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
काठमाडौं उपत्यकालगायत पहाडी भेग छोएका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
पहाडी तथा उच्च हिमाली भेग छोएका पश्चिम नेपालका भूभागमा अहिलेको प्रणालीले बढी असर पारेको महाशाखाले जनाएको छ। तराईसहितका भूभागमा भने कम असर रहेको छ। तराईका विभिन्न जिल्लामा भने शीतलहर र हुस्सु कुहिरोको प्रभाव कायमै रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।