देउखुरी- दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन्। गत बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन्।
उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगइ होटलमा पुगेका थिए। थकाली होटलमा दुई महिलासहित पुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका थिए।
कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरवाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्नको आशंकामा उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।