काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालीन असर गरेको बताएका छन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभा उद्घाटन गर्दै मंगलबार मन्त्री गहतराजले अदालतबाट अल्पकालीन आदेश आएपछि खेलकुदमा दीर्घकालीन असर गरेको औंल्याएका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुद क्षेत्र दुर्भाग्यपूर्ण अवस्थामा पुगेको उनले बताए।
मन्त्री गहतराजले अहिले खेलकुदको विषय कुनै व्यक्तिसँगको नभइ देशको समग्र खेल क्षेत्रको विकाससँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नुपर्ने धारणा राखे। उनले अदालतको निर्णय जसको पक्षमा आए पनि आफूलाई स्वीकार्य रहेको बताए।
यता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मैदान र खेल संघमा हुनुपर्ने खेलकुद सर्वोच्च अदालतमा भइरहेको आरोप लगाए।
सरकारले राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई नियुक्त गरेपछि पूर्वसदस्यसचिव सिलवाल अदालत पुगेका थिए। सर्वोच्चले पूर्वसदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न तथा नवनियुक्त सदस्यसचिव घिसिङलाई राखेपाको कामकारबाही रोक्न आदेश दिएको थियो।
सोही विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो। तर १२ गते समय अभावको कारण देखाउँदै अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।