काठमाडौं- नेपाली क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक दासानायकेले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका हुन्। उनले नेपालको चुनौती सामना गर्न आफू तयार भएको बताए। पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको प्रशिक्षक दासानायकेले बताए।
यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक दासानायके आज नेपाल आइपुगेका हुन्। विमानस्थलमा दासानायकेलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। नेपाल क्रिकेट संघ (क्यान)को मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा दासानायकेलाई अनुमोदन गरेपछि दासानायकेले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
प्रशिक्षक दासानायकेले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या सामान्य भएको भन्दै बन्द कोठाभित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे। प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे।
प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक सन् २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो। सोही हिसाबले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकको रुपमा लिइन्छ। पूर्वमुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो। त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट दासानायकेलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।