काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा (माओवादी केन्द्र)को महाधिवेशनलाई एमालेकै छायाँ महाधिवेशनको संज्ञा दिएका छन्। मंगलबार प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'माओवादीले माओवाद पनि भन्न सक्दैन, न प्रचण्डपथ भन्न सक्छ। एमालेले जे-जे गरेको छ, त्यस्तै गरेको छ। माओवादीको महाधिवेशन एमालेकै छायाँ महाधिवेशन हो। एमालेले जे-जे गर्न खोज्यो त्यही लागू गरिरहेको छ,' उनले भने। माओवादीको महाधिवेशन 'डुप्लिकेट' महाधिवेशन भएको समेत उनले बताए।
उपमहासचिव गुरुङले माधवकुमार नेपाल नेतृत्वको पार्टीको कुनै भविष्य नभएको दाबी गरे। मुलुकलाई नेतृत्व दिने पार्टी एमाले एमाले मात्रै भएको उनको भनाइ थियो।
'केपी ओली जस्तो दृढ संकल्प बोकेको नेताले नेतृत्व गरेको पार्टी हो एमाले। हिजो माधव नेपालले नेतृत्व गर्दा एमाले कमजोर बनेको थियो, अहिले एमाले बलियो बनेको छ। अहिले जुन खालको नीति एमालेले लिएको छ, यसले एमाले मुलुकको थप बलियो पार्टी बन्ने छ,' गुरुङले भने।
माधव नेपालहरु बाहिरिँदा एमालेलाई कुनै घाटा नभएकोसमेत उनले दाबी गरे। अहिले झन् बलियो र सशक्त बनेको उनले बताए। 'एमालेको महाधिवेशनमा देखिएको जनलहर र अहिले एमालेमा प्रवेश गर्नेको जनलहरले त्यो देखाएको छ,' उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।