काठमाडौं– नेपाली महिला भलिबल टोलीले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको हो।
बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो।
नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५, र अन्तिम सेटमा १५-११ स्कोर बनाउँदै जित हात पारेको हो।
राउण्ड रोबिनको लिग खेलमा नेपालले यसअघि उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो भने उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो।
आजै नेपालले पुरुषतर्फ तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल केही बेरमा सुरु हुनेछ।
आगामी संस्करण माल्दिभ्समा
एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण माल्दिभ्समा हुने भएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसनको सोमबार बंगलादेशमा सम्पन्न बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो।
प्रतियोगिताको मिति भने तोकिएको छैन। माल्दिभ्सले यसअघि तेस्रो संस्करणको च्याम्पियनसिपको आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।