फाइल तस्बिर
काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबुदु दासानायके काठमाडौं आइपुगेका छन्। नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले गत मंसिर २५ गते राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि दासानायके नेपाल आएका हुन्।
उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए।
यसअघि उनी सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए। सन् २०१५ मा क्यानसँग विवाद भएपछि राजीनामा दिएका थिए।
यद्यपि, उनी आईसीसीको अनुरोधमा सन् २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबियामा भएको सिरिज र एमसीसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।
दासानायकेको नेतृत्वामा नेपाली क्रिकेट टोलीले सन् २०१४ को टी–२० विश्वकपमा गतिलो छाप छोडेको थियो।
बंगलादेशमा भएको विश्वकपमा अफगानिस्तान र हङकङलाई हराएको नेपालले बंगलादेशलाई गतिलो चुनौती दिएको थियो। दासानायकेकै प्रशिक्षणमा क्यानडाले पनि सन् २०११ मा एक दिवसीय विश्वकप खेलेको थियो। त्यसपछि उनी नेपाल आएका थिए।
उनको नेतृत्वमा नेपाल विश्वकप क्रिकेट लिग डिभिजन फोर, थ्री र एसीसी ट्रफी एलिट च्याम्पियन भयो। उनले सम्हालेको नेपाली टिमले एसीसी टी–२० उपविजेता हुँदै आईसीसी छनोट पार गरेर टी–२० विश्वकप खेलेको थियो।
नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएको दुई महिनापछि अमेरिकाले एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाएको छ। उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (ईपीएल) टिम भैरहवा ग्लाडिएर्टसको प्रशिक्षक नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।