काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुँदै गएकोप्रति ध्यानाकर्षण गराएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन राखेको प्रतिवेदनमाथि पूरक प्रस्ताव राख्दै उनले संघीयताको चिन्ता व्यक्त गरेका हुन्।
संघीयताको मर्मविपरित जनप्रतिनिधिहरु चलिरहेको उनको बुझाइ छ। उनले भनेका छन्, ‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन।’
संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याएको तर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन नसकेको उनको बुझाइ छ। प्रतिवेदनमा उनले भनेका छन्, ‘मजदुर–किसान जस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुनेछ।’
नीति निर्माणमा जनताको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उनको भनाइ छ। ‘चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले संघीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका हौं,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।