काठमाडौं– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा सेवाग्राहीको भीड हुन थालेपछि आलोपालो प्रणालीमा सेवा सुरु गरेको छ। कार्यालयले आउँदो बिहीबारदेखि लागु हुने गरी तालिका बनाएको हो।
कार्यालयले सूचनामार्फत सार्वजनिक अपिल गर्दै कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिनसमेत आग्रह गरेको छ।
दैनिकरूपमा नागरिकतालगायत सेवा लिन आउनेको सङ्ख्या बढिरहेकाले भीड कम गर्न समयतालिका हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए। उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगर तथा चौंरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा प्रदान गरिनेछ।
यस्तै पनौती नगर, पाँचखाल नगर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका लागि सोमबार र विहीबार सेवा प्रदान हुने जारी सूचनामा उल्लेख छ।
बनेपा नगर, नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकाका लागि मंगलबार र शुक्रबार तोकिएको छ भने महाभारत र खानीखोला गाउँपालिकाका लागि दैनिकरूपमै सेवा प्रदान हुने प्रजिअ पोखरेलले जानकारी दिए।
कार्यालयले गत असोज महिनायता जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप्दै आएको थियो। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले समुदायमा संक्रमणदर घटेको तथा मृत्युदर शून्यमा झरेका कारण काभ्रेपलाञ्चोक ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको थियो। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।