फाइल तस्बिर काठमाडौं– बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत महिला तर्फको उपाधिका लागि नेपाली टोली आज (मंगलबार) उज्वेकिस्तानसँग भिड्दै छ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको खेल ११ः१५ बजे सुरु हुनेछ।
साविक विजेता नेपाल उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ। नेपाली टोली जारी प्रतियोगितामा अपराजित रहेको छ।
राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो।
नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो भने उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो।
आजै नेपालले पुरुषतर्फ तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।
आगामी संस्करण माल्दिभ्समा
एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण माल्दिभ्समा हुने भएको छ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसनको सोमबार बंगलादेशमा सम्पन्न बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो। प्रतियोगिताको मितिभने तोकिएको छैन। माल्दिभ्सले यसअघि तेस्रो संस्करणको च्याम्पियनसिपको आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।