काठमाडौं– कोभिड–१९ महामारीका कारण अभिभावक गुमाई आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको हो।
सोमबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा सो अभियानको घोषणा गरेका हुन्। ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिशहोम परिवारले आर्थिकरुपमा व्यवस्थापन गर्ने जनाइएको छ।
कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरु कयौँ समस्या भए पनि बालबालिकाको शैक्षिक निरन्तरता बढी चुनौतीप्ूर्ण रहेको निष्कर्षसहित आफूहरु अभियानमा जुटेको बताए। कोरोना महामारीका कारण अभिभावक गुमाएकाको मुख्य जिम्मेवारी राज्यको भए पनि सचेत नागरिकले व्यक्तिगत वा संस्थागत रुपमा योगदान गर्न जरुरी रहेको उनको भनाइ थियो।
डिसहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिडबाहेक भविष्यमा हुनसक्ने अरु सम्भावित महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समेट्ने सोच रहेको जानकारी दिए।
अभियन्ता एवं सञ्चारकर्मी चारु चट्टाले शिक्षाको महत्व अथाह भएको भन्दै महामारीका कारण कोही पनि शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य आफूहरुको रहेको बताए। राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, शिक्षकलगायतको उत्पादन शिक्षाबाटै सम्भव भएकाले यसलाई राज्य र समाजले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए। ‘टिच फर नेपाल’की प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले गरिब र भूमिहीन कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरिन्।
सिन्धुपाल्चोकलाई प्रमुख कार्यथलो बनाएर शिक्षा क्षेत्रमा सक्रिय संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामाले कोभिड–१९ र पोष्ट कोभिडका कारण मारमा परेका विद्यार्थीको शैक्षिक निरन्तरता चुनौतीपूर्ण भएको बताए।
तथ्यांक संकललनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’का प्रमुख कार्यकारी अधिकृत मनिष झाले नेपालमा २७ लाख बालबालिका गरिबीका कारण शिक्षाबाट वञ्चित रहँदै आएकामा पछिल्लो केही समयमा उक्त सङ्ख्या घटेर १४ लाखमा झरेको जानकारी दिए। महामारीका कारण शिक्षाबाट वञ्चित देशभरका बालबालिकाको तथ्यांक संकलन भइरहेको उनले बताए।
एक वर्षका लागि छात्रवृत्तिमा आवश्यक रकमको व्यवस्था डिसहोम परिवारले गर्ने सो अवसरमा बताइयो। डिसहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर÷सब डिलरबाट यसका लागि ४० लाख रुपैयाँ संकलन गरिएको जानकारी सो अवसरमा दिइयो। आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकांकमा कमजोर रहेका कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ का जिल्लालाई प्राथमिकतामा राखिनेछ।
फ्याक्ट नेपालले कोरोनाका कारण ज्यान गुमाएकाको तथ्यांक संकलन गर्ने र सोही तथ्यांकका आधारमा विद्यार्थी छनोट गरिने अभियानले जनाएको छ। छात्रवृत्ति पाउने विद्यार्थीलाई डिसहोम सञ्जालमार्फत रकम प्रदान गरिनेछ। विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउनेछन् । छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।