फाइल तस्बिर काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन्।
सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सबै नेताहरुले निजी क्षेत्रको सहभागिताविना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाए। उनले महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बन्धित १०० वटा समस्याहरु पहिचान भएको बताउँदै ती समस्या समाधान भए मुलुकभित्र लगानीको वातावराण बन्ने पनि दाबी पनि गरे।
उनले भिजन पेपरमा पहिचान भएका समस्यामध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी अगाडि बढाएको बताए। अध्यक्ष गोल्छाले ४४ वटा समस्यामध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको बताए।
हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव कारण लयमा फर्किन थालेको अर्थतन्त्र पुनः सुस्ताउँदै गएकोले चिन्ता बढेको उनको भनाइ थियो। अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत जानकारी दिए।
यस्तै, कोरानाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजीकरण गर्ने भन्नेबारे अर्थ मन्त्रालयलाई आग्रह गरिएकोसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।