तस्बिर: निमेषजंग राई/नेपाल लाइभ काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन भइरहेको कमलादीस्थित प्रज्ञा भवनबाहिर भेटिइन् वृक्षा उखेडा। उनी वैशाखीको सहारामा त्यहाँ पुगेकी थिइन्। सोमबार प्रज्ञा भवनभित्र महाधिवेशन चलिरहँदा बाहिर घरी प्रज्ञाका भित्ता हेरेर टोलाउँथिन्, घरी पुस्तक बिक्री केन्द्रमा ‘प्रगतिशील’ पुस्तकहरू खोजिरहेकी हुन्थिन्।
रुकुमकी उखेडा महाधिवेशन प्रतिनिधि होइनन्। तर, कमलादीस्थित प्रज्ञा भवनभित्र बन्दसत्र चलिरहँदा उनी पनि त्यहाँ पुगेकी थिइन्। प्रतिनिधि नभए पनि महाधिवेशनस्थल नगइ उनलाई चित्तै बुझेन।
उखेडा ‘जनयुद्ध’को घाइते हुन्। घर बाँफीकोट गाउँपालिका-२ पश्चिम रुकुममा पर्छ। अहिले बाँकेको कोहलपुर बस्छिन्। उपचार र ‘फलोअप’का लागि समय-समयमा काठमाडौं आइरहनुपर्छ। वीर अस्पताल र ट्रमा सेन्टर धाउन थालेको निकै वर्ष भइसक्यो।
यसपटक पनि उनी उपचारकै सिलसिलामा काठमाडौं आएकी हुन्। एक महिनाअघि आएकी उनलाई महाधिवेशनको रौनकले छोइहाल्यो। अनि, आइतबार उद्घाटनसत्र र सोमबार बन्दसत्र दुवै दिन प्रज्ञा भवन पुगिन्।
प्रज्ञा भवनमा राखिएका ब्यानर र सजाइएका प्रचण्डका तस्बिरहरू उनले बारम्बार हेरिन्। नाराहरू पढिन्। अनि आफ्नो विगतमा डुबिन्।
अझै पनि उनलाई पार्टीले ‘केही गर्छ’ भन्ने आशा छ। देश परिवर्तनको एजेन्डा माओवादीले मात्र बोक्न सक्छ भन्ने विश्वास छ। जस्तो विश्वास बोकेर कुनै समय युद्धमा होमिएकी थिइन्, त्यो हराएको छैन।

तर, आशंका भने उब्जिएको छ। ‘अहिले कमरेड प्रचण्ड स्वयम् संसद्वादी व्यवस्थामा फसेर कतै हाम्रा अजेण्डा छोपछाप भए कि भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘समावेशी, विभेदविरोधी र श्रमजीवीका नारालाई कार्पेटमुनि लुकाएर समानता खोज्यौँ कि भन्ने लाग्छ।’
पार्टीको महाधिवेशन अध्यक्ष प्रचण्ड र नेताहरूलाई खबरदारी गर्ने ठाउँ पनि हो भन्ने उनलाई लागेको छ। त्यैसले त महाधिवेशनस्थल पुग्छिन्। प्रतिनिधि नभएका अन्य घाइते साथीहरूलाई पनि आउन भन्छिन्। र भित्र बन्दसत्रमा बहस चलिरहँदा बाहिर साथीहरूसँग छलफल चलाउँछिन्। ‘हामी जनयुद्धमा ज्यान माया मारेर लागेका हौँ। गरिब जनताको मुक्तिको सपना देखेर हिँडेका हौँ। सहिद त भएनौँ, तर घाइते भयौँ। हाम्रा आफन्त सहिद भएका छन्। त्यसैले पार्टी विचलित होला भन्ने चिन्ता लाग्नु स्वाभाविक हो,’ उनी गम्भीर भइन्।
वृक्षा दलित समुदायकी सदस्य हुन्। उनको परिवार निम्न मध्यम वर्गीय हो। उनका जेठा दाजु सशस्त्र युद्धकै क्रममा मारिए। उनलाई विद्रोही बनाउने एउटा मात्र होइन धेरै कारण थिए।
तीन शिक्षकको हत्याले मोडिदियो बाटो
उनी गाउँकै छिङ माविमा कक्षा ८ मा पढ्थिन्। जनयुद्धको उद्गम थलो भएकोले रुकुममा तत्कालीन माओवादीको प्रभाव थियो। तर, उनी माओवादी भइसकेकी थिइनन्।
एक दिन विद्यालयलाई सेनाले घरा हाल्यो। माओवादी भएको आरोपमा तीन शिक्षकको हत्या गरियो। आफूलाई पढाइरहेका शिक्षकको हत्या गरिएको दृश्य हेर्न विद्यार्थीलाई बाध्य बनाइयो।
त्यसपछि सेना त फर्कियो, तर माओवादी नेताहरू बाक्लै गरी विद्यालय आउन थाले। उनीहरूले शिक्षक हत्याको बदला लिनुपर्ने कुरा बारम्बार गर्न थाले। विद्यार्थी संगठन खोले। उनी पनि त्यसमा सक्रिय भइन्। अनि त्यसको केही समयपछि बन्दुक बोक्न पुगिन्। शिक्षक हत्याको बदला लिनकै लागि उनी युद्धमा जान तयार भएकी थिइन्।
‘शिक्षक हत्या माओवादीमा लाग्ने तत्कालीन कारण थियो। तर, जातीय छुवाछुत, आर्थिक असमानता, सामाजिक शोषण जस्ता कारणले पनि विद्रोही बनाएको हो,’ उनी भन्छिन्। उनी युद्धमा हिँडे पनि पढाइलाई पूर्णरूपले भने छाडिनन्।
त्यति बेलासम्ममा घर माओवादीमय भइसकेको थियो। जेठो दाजु त्यसअघि नै युद्धमा हिँडिसकेका थिए। त्यसैले उनलाई पनि पार्टीमा सामेल हुन अप्ठ्यारो परेन।

उनी २०५७ सालमा भूमिगत भइन्। विस्तारै कमाण्डरको जिम्मेवारीमा पुगिन्। कतिपय युद्धमा उनले नै ‘कमाण्ड’ गरिन्। युद्धकै क्रममा दाजुको ‘सहादत’ भएको खबर पाइन्। त्यसको पीडा त थियो नै आक्रोश पनि भयो। अनि त झनै जब्बर भएर युद्धमा लागिरहिन्।
युद्धकै अवस्थामा उनको भेट धनबहादुर गिरीसँग भयो। दुवै माओवादी सेनामा थिए। उनीहरूबीच माया बस्यो। वृक्षा घाइते भएपछि उनीहरू घर फर्किए र बिहे गरे। अहिले दुई छोरा र एक छोरी छन्।
उनी अर्घाखाँचीमा भएको भिडन्तमा पहिलोपटक घाइते भएकी थिइन्। दोस्रोपटक २०६२ सालमा पाल्पाको तानसेनमा भने गम्भीर घाइते भइन्। तत्कालीन माओवादीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति लिएको थियो। त्यही रणनीतिअनुरुप उनी पार्टीको गण्डक अभियानमा सहभागी थिइन्। तर, तानसेन भिडन्तमा उनको दाँया घुँडा र कम्मरमा गोली लाग्यो। त्यसपछि लामो समय उपचार गर्नुपर्यो।
उनको मेरुदण्डमा स्टिल राखिएको छ। राम्ररी उभिन सक्दिनन्। १६ वर्षदेखि वैशाखीको सहारामा मात्र हिँड्न सक्छिन्। मेरुदण्डको स्टिलले १० वर्ष काम गर्यो। त्यसपछि फेर्नुपर्यो। अहिले पनि बेलाबेला उपचार गराइरहनुपर्छ।
युद्धमा बाँचेका श्रीमान् बाढीमा बिलाए
बृहत् शान्ति सम्झौतामार्फत् तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। अनि धनबहादुर गिरी र वृक्षा उखेडा पनि सामान्य जीवनमा फर्किए। त्यसपछि बाँकेको कोहलपुरमा बस्न थाले।
वृक्षाको सहारा वैशाखी थियो। श्रीमानको कमाइबाट पाँच जनाको परिवार पालिनु पर्थ्यो। खान-लगाउन समस्या हुन थाल्यो। अनि, श्रीमान् धनबहादुर काम खोज्दै सन् २०१३ मा भारतको केदारनाथ पुगे।

केदारनाथ जानुअघिको बिदाइ श्रीमानको अन्तिम बिदाइ रहेछ। केदारनाथमा आएको भीषण बाढीले धनबहादुरलाई पनि बगायो। धन कमाउने र श्रीमान्-श्रीमती सँगै बस्ने सपना कहिल्यै पूरा नहुने गरी उनी बिदा भए।
त्यसपछि तीन छोराछोरीको लालनपालन गर्दै उनी राजनीतिमा पनि सक्रिय छिन्। कोहलपुरमा उनको सानो माछा पसल छ। तर, कोरोना महामारीले उनको व्यापार डामाडोल बनायो। तैपनि हिम्मत हारेकी छैनन्।
जिन्दगीमा धेरै उथलपुथल भए। तर, माओवादी पार्टीप्रतिको भरोसा टुटेको छैन। उनी अहिले पार्टीको नगर समितिमा आबद्ध छिन्। घाइते अपांगता भएकाहरूको संघको केन्द्रीय सदस्य छिन्। पार्टीमा सक्रिय भइरहेकी उनी नेतृत्वलाई खबरदारी गर्न महाधिवेशनमा हरेक दिन जान्छिन्। ‘हाम्रा सपना अझै मरेका छैनन्,’ उनी दृढ छिन्।
'जनयुद्ध'का घाइते र सहिद परिवारलाई दीर्घकालीन रूपमा राहत दिनुपर्ने र यो विषय पार्टीले सशक्त रूपमा उठाउनुपर्ने उनी बताउँछिन्। ‘दया मायाले दुई-चार हजार हातमा दिने, तर दीर्घकालीन व्यवस्थापन नगर्ने गर्नु भएन,’ उनी भन्छिन्, ‘केही पीडितलाई किस्तामा राहत दिँदैमा सिंगो जनयुद्धले न्याय पाउँदैन। हामीले हाम्रा अजेन्डा भुलेका छैनौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।