नवलपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिकबाहिर गएकाले पुनः लिकमा हिँडाउन जरुरी भएको बताएका छन्।
राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिने बताएका छन्।
उनले केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्तिप्रति लक्षित गर्दै भने, 'राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए।'
अध्यक्ष लिङ्देनले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको र आपसी एकता कायम रहेको नेपाललाई अस्थिर र विभाजित गर्न विदेशीले धर्म निरपेक्षताको कार्ड प्रयोग गरेको र हिन्दू राष्ट्रको पहिचान समाप्त गर्न नेपालका राजनीतिक दल र दलका नेताहरू विदेशी षड्यन्त्रको शिकार भएको बताएका छन्। अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको, लुटतन्त्रलाइ परास्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध राजनीतिक शक्ति भएको दाबी गरेका छन्।
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खने समय नरहेको उल्लेख गरेका छन्। अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले देशका विकृति विसंगतिका विरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको र जनताको तागत पटक-पटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराएका छन्।
कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू नीलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारीलगायतले सम्बोधन गरेका थिए।
विस्तारित बैठक मंगलबारसम्म चल्ने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।