काठमाडौं– सिन्धुपाल्चोकका पुराना नेता सुवास कर्माचार्यले नेकपा (एमाले)बाट अलग भएको घोषणा गरेका छन्।
चितवनमा भएको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका उनले अब एमालेमा रहेर आफूले काम गर्न नसक्ने देखेपछि अलग हुने घोषणा गरेको बताएका छन्।
करिब ४० वर्ष एमालेमा सक्रिय राजनीति गरेका कर्मचारी आफूभन्दा जुनियरहरु केन्द्रीय सदस्यमा मनोनित र निर्वाचित हुँदा आफूलाई नपरेपछि आइतबार सामाजिक सञ्जालमार्फत् अलग भएको घोषणा गरेका हुन्।
सिन्धुपाल्चोकबाट एमालेको केन्द्रीय सदस्यमा शेरबहादुर तामाङ, अरुण नेपाल र सरेश नेपाल अटाउँदा उनी अटाउन सकेनन्।
एमाले स्थायी कमिटी सदस्यमा तामाङ, पोलिटब्यूरो सदस्य अरुण नेपाल पर्दा उनीहरुकै सहकर्मी रहेका कर्मचार्य बाहिर परेका थिए।
समकालिन नेता कर्माचार्य एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षी थिए। तर, उनी पराजित भए। अध्यक्ष केपी शर्मा ओलीले सुनाएको सूचीमा उनी परेका थिएनन्।
दुई कार्यकाल एमाले सिन्धुपाल्चोकको पार्टी प्रमुख भएका कर्माचार्य २०५६ सालमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएका थिए। त्यसपछि उनले टिकट पनि पाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।