काठमाडौं– पछिल्लो पाँच महिनाको अवधिमा नै साढे ११ सय प्रहरी अधिकारी कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७८/७९ को साउन महिनादेखि मंसिर मसान्तसम्म ११ सय ४५ प्रहरी अधिकारी कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
कारबाही पर्नेमा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी कार्यालय सहयोगीसम्म छन्। हेडक्वार्टरका अनुसार इन्स्पेक्टरदेखि माथि एसपीसम्म कारबाही हुनेको संख्या १९ छ। जसमा एसपी ३ जना, डीएसपी ४ जना र इन्स्पेक्टरको संख्या १२ जना छ।
त्यसैगरी, प्रहरी नायव निरीक्षक (सई) ४६ जना, प्रहरी सहायक निरीक्षक (असई) ८६ जना, हवल्दार ३०५ जना, जवान ६७५ जना र कार्यालय सहयोगी १४ जना गरी जम्मा ११ सय ४५ प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए। प्रहरी आचरण तथा प्रहरी नियमावली विपरीत काम गरेकाले उनीहरुलाई कारबाही गरिएको हो।
नराम्रो काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कारको नीति अनुरुपमा राम्रो काम गर्ने १९ सय ८० प्रहरीलाई पुरस्कार समेत दिइएको हेडक्वार्टरले जानकारी दिएको छ। उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पाउनेमा १ डीआईजी, ६ एसएसपी, २१ एसपी, ७७ डीएसपी, १६४ इन्स्पेक्टर छन्।
त्यस्तै, २६४ सई, २८८ असई, ४४१ हवल्दार, ७३३ जवान र ३ कार्यालय सहयोगीलाई पुरस्कार दिइएको छ। गत आर्थिक वर्षको यही अवधिमा १६९० जनाले पुरस्कार पाएका थिए भने ९४४ जनाले सजाय पाएका थिए।
पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले बढेको छ भने सजाय हुनेको संख्या २१.२९ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।