काठमाडौं– साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ फाइनमा पुगेको छ।
सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई हराउँदै नेपाली महिला टोलीले लगातार पाँचौं जित निकाल्दै उपाधिका लागि उज्वेकिस्तानसँग भेट पक्का गरेको हो।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सम्पन्न खेलमा नेपाली महिला टोलीले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
जारी प्रतियोगितामा अपराजित रहेको नेपालले किर्गिस्तानमाथि पहिलो सेट २५-८, दोस्रो सेट २५-१४ र अन्तिम तथा तेस्रो सेट २५-१७ मा विजयी भयो। जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको छ। नेपालले ५ खेलमा १४ अंक जोडेको छ।
अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्नेछ। सोमबार नै श्रीलंकालाई ३-२ को सेटमा हराएर उज्वेकिस्तानले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ।
यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो। दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो। चौथो खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल एक खेल अगाबै फाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।