काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गतको रकमलाई 'सित्तैमा आएको' भनि भन्नु लज्जास्पद अभिव्यक्ति भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा सोमबार रावले देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु 'जनता ठग्ने लज्जास्पद अभिव्यक्ति' भएको उल्लेख गरेका हुन्। यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै नसक्ने रावलको तर्क छ।
'मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई 'सित्तैमा आएको' भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति! यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन' रावलले भनेका छन्।
उनले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अरुले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाएको आरोप लगाएका छन्।
'प्रम देउवाले एमसीसीसंगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ' उनले भनेका छन्, 'सम्झौतामा 'कहीं राष्ट्रघात नदेखेको' र 'सित्तैमा आएको पैसा किन नलिने' भन्नु नेपालको हित,स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नांगो भक्ति हो।'
प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा शुभकामना दिँदै एमसीसीमा कही राष्ट्रघात नदेखिएको भन्दै पढ्न सुझाव दिएका थिए भने सित्तैमा आएको रकम लिनुपर्ने तर्क गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।