काठमाडौं- सोलुखुम्बुको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षणको क्रममा दुई जनाको मृत्यु भएको छ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षण गर्दै गर्दा पाइप पड्किएर दुई जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किँदा बेहोस भएका दुई जनाको मृत्यु भएको बताए। पाइप विस्फोट हुँदा बेहोस भएका उनीहरुलाई ओखलढुंगास्थित मिसन अस्पताल लगिएको भए पनि बचाउन नसकिएको उनले बताए।
दुर्घटनामा अछामका २६ वर्षिय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको मृत्यु भएको हो।
शाहीका अनुसार गम्भीर घाइते एक जना मोहम्मद राइनलाई भने हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।