काठमाडौं– कैलालीस्थित धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानीमा रहेको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको क्यानले जनाएको छ। बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।
उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ। आले पर्यटन मन्त्री भएलगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाएअनुसार उक्त बजेट विनियोजन गरिएको हो।
धनगढीमा क्षेत्रीय विमानस्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने विश्वास गरिएको छ।
यसैगरी, आइतबारको बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरासमेतमा विमास्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।