काठमाडौं– विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरीमा खेलेको छ।
त्रिपूरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा आर्मीले थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। बराबरीसँगै आर्मीको एएफसी कप छनोट खेल्ने सम्भावना सकिएको छ।
एएफसी कपको छनोट खेल्ने सम्भावनालाई जीवित राख्न थ्रीस्टारविरुद्ध आर्मीलाई जितको खाँचो थियो। तर, आर्मीले नतिजा आफ्नो अनुकुल निकाल्न सकेन। अब सातौं चरणमा मनाङले ब्रिग्रेड ब्वाइज (बिबिसी)सँग पोखरामा तथा मछिन्द्रले पुलिससँग काठमाडौंमा खेल्नेछ। विजेताले एएफसी कप खेल्ने छ। मछिन्द्रको जारी लिगमा १४ अंक रहेको छ भने मनाङको १३ अंक रहेको छ।
गत सिजन च्याम्पियन भएको मछिन्द्रको एएफसी क्लब लाइसेन्स नभएपछि लिगमा दोस्रो भएको आर्मीले एएफसी कप खेल्ने मौका पाएको थियो।
आइतबारको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर खेर फाल्दा खेल गोलरहित बराबरीमा सकिएको हो। खेलको १५औं मिनेटमा दिनेश हेन्जनको हेडर बाहिरियो।
३६औं मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिकमा पदमबहादुर तामाङको प्रहार पोलमा लागेर फर्कदा र रिवाउन्डमा विकास तामाङको प्रहार आकासियो।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दिनेश हेन्जनले वान भर्सेस वानको अवस्थामा पाएको मौकालाई प्रहार नगरी पास दिँदा राफयल रिमगागोले क्लियर गर्दिए।
८३औं मिनेटमा टेकबहादुर बुढाथोकीले फ्रि हेडर आकासियो। यो बराबरीसँगै अपराजित रहेको आर्मी ६ खेलबाट १० अंक जोडेर चौथो स्थानमा झरेको छ। आइतबार संकटाले बिबिसीलाई ३–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको थियो।
चौथो बराबरी खेलेको थ्रीस्टारको ६ खेलबाट ७ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। थ्रीस्टारले न्यूरोड टिम (एनआरटी)लाई गोल अन्तरमा पछि पारेको हो। शीर्षस्थानको मनाङको १४, मछिन्द्रको १३ तथा संकटाको १२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।