काठमाडौं– नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुलाई मनपरी ब्याजदर नबढाउन आग्रह गरेको छ। बैंकहरुले तरलताको बहाना बनाउँदै मनपरी ब्याजदर बढाएको महासंघले आरोप लगाएको छ।
शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो कामकारबाहीले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको जानकारी दिएका छन्।
कोरोनाका कारण अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण अझ समस्यामा परेको कटुवाल बताउँछन्। उनी भन्छन्, ‘उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन। लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको छ। यसलाई नियन्त्रण गर्नुपर्छ।’
यस्तै, महासंघले विज्ञप्ति जारी गर्दै पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अझ खासगरी साना, मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।