 तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
                                        
                                            तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
                                        
                                    
                                                             
                            
                            काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले पार्टीहरुमा चल्ने गरेको पुस्तान्तरणको कुरा पुँजीवादी शैली भएको बताएका छन्। आइतबार सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले पुस्तान्तरणको बहसको आलोचना गरेका हुन्।
'अहिले पुस्तान्तरणको कुरा चलेको छ। बुढाहरुले छोडेर युवाहरुलाई दिनुपर्यो', उनले भने, 'यो पुँजीवादी शैली हो। स्थापित नेतृत्वलाई पाखा लगाइदिने। केही नजान्नेहरुलाई नेता बनाइदिने। हामीले सबै अभ्यास गर्यौं। नेभर सेकेन्डहरुको पनि अभ्यास हेर्यौं। कस्तो मार्क्सवाद पढेको थियो, त्यो पनि हेर्यौं। डिग्रीले मात्रै हुने भए त, नेपालमा चार पाँच विषयमा पीएचडी गर्नेहरुको पनि हविगत हेर्यौं।'
उनले सामाजिक अन्तरविरोधलाई जसले बुझ्यो, त्यसलाई हल गर्ने बाटो जसले दियो, उसैले क्रान्तिको बाटो तय गर्ने बताए। अनुहार र उमेरले केही नहुने उनको भनाइ थियो। 
'अध्यक्ष कमरेडलाई पत्रकारहरुले सोध्छन्। उहाँ भनिदिनुहुन्छ, मलाई संस्मरण लेख्ने', यादवको प्रश्न छ, 'धर पाइन्छ? पाइँदैन। क्रान्तिलाई बीच बाटोमा छाडेर दुनियाँमा कोही क्रान्तिकारी नेताहरु गएका छन् र? अवसरवादीहरु मात्रै जान्छन्। अब पत्रकारले सोध्यो भने त्यो कुरा नभनौं।'
माओवादीले 'प्रचण्डपथ'लाई स्थगन गर्दा क्रान्ति रनभुल्लमा परेको यादवले बताए। 'माओवादी जनयुद्धले विकास गरेको विचार प्रचण्डपथलाई विकास गर्नुको साटो हामीले छाडिदियौं। क्रान्ति रनभुल्लमा पर्यो। कमरेड प्रचण्डले के गरेको हो भनेर आमरुपमा प्रश्न उठ्यो। सर्वप्रथम ममा नै उठ्यो', उनले भने, 'अब उहाँ क्रान्ति गर्नुहुन्न, हिँड्ने भनेर सबै हिँड्नुभयो। हाम्रो हविगत के भयो? सबैभन्दा पहिले मैले नै छाडेँ। मैले नै सुरुमा आएर भनेँ, अब एकजुट होऔं।'
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।