काठमाडौं- फिनल्याण्ड पठाउने नाममा ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले इलामको माइजोकमाई गाउँपालिका-२ खोलागाउँका २९ वर्षीय अमित थामीलाई पक्राउ गरेको छ। महाशाखाले थामीलाई पुस ९ गते गौरीघाटबाट पक्राउ गरेको हो।
विनोद तामाङको फेसबुक प्रोफाइलमा फिनल्याण्डमा वैदेशिक रोजगारीमा अवसर भनी विज्ञापन गरी प्रलोभनमा पारेर थामीले ठगी गरेको पाइएको छ। फेसबुक प्रोफाइलमा इमेल आईडी, ह्वाट्स एप नम्बरसमेत राखी सेक्युरिटी गार्ड आवश्यक रहेको उल्लेख गरिएको थियो। उक्त विज्ञापन देखेपछि शम्भु घलेसहित पाँच जनाले ह्वाट्स एपमासमेत फोन गर्दा ती व्यक्तिले आफू म्यानेजर भएको र फिनल्याण्डको कोटी सर्भिस अपार्टमेन्टमा सेक्युरिटी गार्ड चाहिएको बताएका थिए।
त्यसपछि ती व्यक्ति फिनल्याण्ड जान तयार भएका र इम्प्लोइमेन्ट, जब कन्फरमेसन लेटरलगायतका कागजात पठाएपछि विश्वासमा भिषा प्रोसेसिङका लागि भन्दै रकम माग गरिएको थियो।
उक्त रकम अमित थामी नामको खातामा हाल्नु भनिएकाले एक लाख ५० हजार रुपैयाँका दरले थामीको खातामा जम्मा गरेका थिए। यसरी पटक-पटक गरी पाँच जनाले २१ लाख बुझाएपछि पनि फिनल्याण्ड पठाउनुको साटो सम्पर्कविहीन भएपछि ती व्यक्ति ठगिएको भन्दै प्रहरीकोमा गएका थिए। त्यसपछि अनुसन्धानका क्रममा महाशाखाले थामीलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।