काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झाले संविधानमा सबैथोक भएपनि केही पनि नभएको महसुस भइरहेको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘संघीयता आयो? कस्तो आयो? समावेशीकरण भयो। त्यो पनि कस्तो भयो, कस्तो भयो। संविधानमा सबैथोक छ। केही पनि छैन, जहाँ हितैषी हुन्छन्, त्यहाँ कोही हुँदैन। अस्पतालमा एक पिन्ट रगत दिने पनि हुँदैन।’
आफ्ना माग पूरा गर्न ६ महिनासम्म म्याराथुन आन्दोलन गरेको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षा गर्ने भनेर संविधान स्वीकारेको बताए। उनले भने, ‘प्राप्त उपलब्धिलाई रक्षा गर्न संविधानमा लेखौं। जारी गरौं। तब तपाईंहरुको माग सम्बोधन हुन्छ भन्नुभयो। यो पाँच वर्षमा अनेक अजेन्डामा छलफल भयो, तर हाम्रो अजेन्डामा छलफल भएन।’
उनले माओवादी र आफूहरुको अजेन्डा एउटै भएको उल्लेख गरे। आफ्नो नेता गजेन्द्रनारायण सिंहले भनेको स्मरण गर्दै सुनाए, ‘हामी विद्यार्थी नेता हुँदा हाम्रा नेता गजेन्द्र नारायण सिंहले माओवादीलाई आतंकवादी पार्टी भन्नुभएन। माओवादीसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्छ भन्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो– हामी उस्तै–उस्तै हो। फरक यत्ति हो, हामी गान्धीवादी, उहाँ माओवादी हो।’
बाटो एउटै भएकाले अप्रत्यक्ष रुपमा सघाउनुपर्छ भनेर सघाएको पनि झाले बताए। संघीयता र समावेशीकरणको अजेन्डा उचित रुपमा सम्बोधन गराउन प्रचण्ड र अन्य नेताले गम्भीर रुपमा लाग्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।