काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले देश बनाउनका लागि अब फरक विचारधारा भएका पार्टीहरु पनि एक हुनुपर्ने बताएकी छन्।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै शाहीले माओवादी केन्द्र र आफ्नो पार्टीको विचारधारा फरक भएपनि अब देश बनाउने नीतिमा एकमत हुनुपर्ने बताइन्।
विदेशीहरुले हस्तक्षेप गर्न नसक्ने बलियो देश र सवल अर्थतन्त्र भएको देश बनाउनेतिर माओवादी केन्द्रले नीति बनाउने शाहीले आशा व्यक्त गरिन्। शाहीले अबको राजनीति नेपाली जनताले खोजेको जस्तो हुनुपर्ने पनि बताइन्।
विदेशीहरुको चलखेल पूर्ण रुपमा निस्तेज गर्ने कुरामा सबै दल एक ठाउँमा रहेको भन्दै शाहीले जनताको जीवनस्तर उकास्न र रोजगारीका लागि युवाहरु खाडी मुलुकमा जानुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताइन्।
राष्ट्रियतालाई बलियो बनाउन अब स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने शाहीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।