काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा प्रज्ञा प्रतिष्ठान पुगेका छन्। उनी माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन गएका हुन्।
प्रधानमन्त्री देउवाका अतिरिक्त मुख्य पार्टीका शीर्ष तहका नेताहरु पनि प्रज्ञाप्रतिष्ठान पुगिसकेका छन्।  एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी भएका हुन्।
माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्र केही बेरअघि सुरु भएको छ। दिउँसो ३ बजे सुरु हुने भनिएको महाधिवेशन करिब १५ मिनेट ढिला गरी सुरु भएको हो। 
माओवादीले महाधिवेशनअघि राष्ट्रिय सम्मेलनको तयारीलाई अन्तिम चरणमा पुर्याइएको थियो। तर, शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। जसलाई आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले पनि अनुमोदन गरिसकेको छ।
राष्ट्रिय सम्मेलन १३ गतेसम्म चल्ने भनिएको थियो। महाधिवेशन भने १५ गतेसम्म चल्ने माओवादी केन्द्रका नेताहरुको भनाइ छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।