काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मोफसलमा पनि पुँजी बजार फस्टाउनु आवश्यक रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल मर्चेन्ट बैंकर्स एसोसिएनसनको सहकार्यमा भएको प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारको विरुद्धमा सरकार नरहेको पनि बताएका छन्।
यस्तै, त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने राईले बताए । ‘कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पुर्याउन सहयोग गर्छौं,’ मुख्यमन्त्री राईले भने, ‘मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ।’ प्रदेश सरकार बजारको विकास र विस्तारका लागि सदैव तत्पर रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताएका छन्। बजार विस्तारको तुलनामा आवश्यताअनुसार धितोपत्रको नियमन हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए।
सूचीकृतमध्ये ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत निर्देशनको प्रभाव बजारमा पर्ने उनको भनाय थियो। ‘बजारमैत्री नीति निर्माण तथा सहजीकरणका लागि बोर्डले सम्बन्धित सबै निकायमा समन्यव गरिरहेको छ,’ गिरीले भने।
बोर्डले प्रदेशस्तरमा पुँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी दिएका छन्। ‘प्रदेशमा बोर्डको आवश्कता महशुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं,’ उनले भने ‘पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयमा बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ।’
बोर्डले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउनका लागि बोर्डले आवश्यक काम अघि बढाएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।