काठमाडौं– ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवको पुस्तान्तरण गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्। यसका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न उनले सम्बद्ध सबैमा आग्रह गरेकी छन्।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आइतबार शुभकामना दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायत सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन्।
सन्देशमा राष्ट्र«पति भण्डारीले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्नसमेत सबैमा आग्रह गरेकी छन्।
नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णयबमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो। ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ।
‘जीवनको उर्बर समय परिवारको लालनपालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र अनुभवका खानीसमेत हुन्,’ सन्देशमा उल्लेख छ, ‘स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायू तथा मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’
माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उनको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।