काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन्।
शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औं वार्षिक साधारणसभा तथा १६औं अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योगलगायतका बन्द तथा घाटामा रहेका उद्योगहरु सञ्चालन गर्न सकिने बताए।
'यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ। यस्ता उद्योगहरु धेरै बन्द अवस्थामा छन्। निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरुमा लगानी गरी तिनीहरुलाई पुनः सञ्चालन गर्न सकिन्छ,' उनले भने।
वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। ढकालले सरकारी ढुकुटीमा खर्बौं राजस्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताएका छन्।
'अहिलेसम्म सरकारी ढुकुटीमा चार खर्ब रुपैयाँभन्दा धेरै राजस्व संकलन भइसकेको छ। यो पुस मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजस्व संकलन हुनेछ। तर राजस्व संकलन केन्द्रीकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम् नहुनाले बजारमा तरलताको समस्या देखापरेको छ,' उनले भने।
गत पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उल्लेख गर्दै उनले यसमा निजी क्षेत्रको योगदान ठूलो रहेको बताए।
ढकालले सबै व्यवसायीहरुले नाफामात्र नहेरेको बताउँदै उनीहरुले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताए। उनले मुलुकको राजस्वमा ठूलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममासमेत नसमेटिएकोमा गुनासो गरे।
'मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको छ। सरकारी राजस्व संकलनमा पनि निजी क्षेत्रले सहयोग गरेको छ। त्यसैले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्दा सरकारलाई पनि सहयोग पुग्नेछ,' उनले भने। बजार अनुगमनका नाममा व्यवसायीहरुले दु:ख पाएको र त्यसलाई मर्यादित बनाउनुपर्नेमा उनले जोड दिए।
वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा लगानीका सम्भावनाहरु भएमा महासंघको तर्फबाट तथा व्यक्तिगत साझेदारी गर्न आफू तयार रहेको बताए।
'तपाईं-हामीबीच व्यावसायिक सम्बन्ध भयो भने हामी पदमा हुँदा वा नहुँदा पनि सम्बन्ध रहने हुन्छ। यहाँका स्थानीय सम्भावनाहरु के-के छन्। उत्पादनमुलक उद्योग, पर्यटन वा अन्य कुनै पनि व्यवसायमा जोडिन सकियो भने यो सम्बन्ध रहिरहन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।