काठमाडौं– एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले दोस्रो हार बेहोरेको छ।
बंगलादेशको राजधानी ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपालले श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२२ को जित निकालेको नेपालले तेस्रो सेट १६–२५ ले गुमायो भने चौथो सेटमा १५–२५ ले गुमाउन पुग्यो।
यो हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्यून बनेको छ । नेपालले ३ खेलबाट ३ अंक जोडेको छ।
लिग चरणमा बंगलादेश र श्रीलंकाको २ खेलबाट समान ६ अंक छ। नेपाल र उज्वेकिस्तानको समान ३ खेलमा ३ अंक छ । माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।