काठमाडौं– धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र विभागीय टिम एपीएफ क्लब भिड्ने भएका छन्।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफले फाइनलमा प्रदेश १ सँगको भेट पक्का गरेको हो।
आजै भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनल पुगिसकेको छ।
एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनायो।
लुम्बिनीका लागि नेरी थापाले अविजित रहँदै सर्वाधिक ३८ रन जोडिन्। नितु भण्डारीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफकका रेखा रावलले ३ तथा सिता राना मगरले १ विकेट हात पारिन्।
यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।
एपीएफका लागि रोम थापाले अविजित ४२ रन बनाउँदा ममता चौधरीले २७ र कप्तान सिता रानामगरले अविजित १८ रन बनाइन्।
यता, राजमती ऐरी १४ र ज्योति पाण्डे ११ रन बनाएर आउट भइन्। लुम्बिनीका नेरी थापा,मधु डिसी र कृतिका मरासिनीले १/१ विकेट लिइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।