पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद नीति निर्माणका लागि पहल सुरु गर्ने बताए।
प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा आयोजित तीन महिने सहायक प्रशिक्षक प्रशिक्षण तालिमको आज उद्घाटन गर्दै उनले प्रशिक्षणले खेलाडीको मनोवल उच्च राख्ने विश्वास व्यक्त गरे।
उनले जसरी हामीले प्रदेशको स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन नीति बनायौं त्यसरी नै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन खेलकुद नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेशको खेलकुद विकासलाई अघि बढाउन सरकारसँग भएको स्रोत र साधनको समुचित उपयोग गर्दै अघि बढने विश्वास व्यक्त गर्दै उनले उच्चस्तरको समिति गठन गरेर प्रदेशभित्रका जग्गाको खोजी गरिने जानकारी दिए।
प्रदेशको हिमाली, पहाडी र तराईमा कुन खेल कहाँ गर्ने भन्ने विषयमासमेत अध्ययन गरिने बताउँदै उनले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना हुनु प्रदेशका लागि गौरवको विषय रहने विश्वास व्यक्त गरे।
युवा तथा खेलकुद मन्त्रालयका सचिव ध्रुव गैडाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालय गम्भिर भएर अघि बढेको बताउँदै खेलकुदको विकासको लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।