काठमाडौं– एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको छ। जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १ सय ४३ रनमा अलआउट भयो।
नेपालका तल्लोक्रमका गुलशन झाले सर्वाधिक ३५ रन बनाए। यता, विवेक रानामगरले ३३ रन बनाउँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
बंगलादेशका मोहम्मद तान्जिन हसन, रकिबुल हसन र एसएम मेहरोब हसन र होहमान नयोनले २–२ विकेट लिए।
त्यसअघि शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।
बंगलादेशका शीर्षक्रमका ब्याटर मोहम्मद प्रान्तिक नवरोज नाबिलले १ सय २७ रनको उत्कृष्ट अविजित शतकीय इनिङ्स खेले। उनले १ सय १२ बलमा ११ चौका र १ छक्का प्रहार गरे।
मध्यक्रमका विकेटकिपर मोहम्मद फहिमले ५ ४ बलमा ३ चौका र ३ छक्का सहित ५८ रनमा रिटायर्ट हर्ट आउट भए।
चौंथो विकेटका लागि प्रान्तिक र फहिमले १ सय बलमा १ सय १७ रनको शतकीय साझेदारी गरेपछि बंगलादेशले बलियो योगफल तयार पारेको थियो ।
नेपालका तीव्र गतिका बलर गुलशन झा, मोहम्मद आदिल अन्सारी र तिलकराज भण्डारीले १/१ विकेट लिए। अब नेपालले दोस्रो खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।