काठमाडौं– तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले यस वर्ष तमू ल्होसार मनाउने भएको छ।
कोरोना महामारीका कारण दुई वर्षपछि परिषद्ले यस वर्ष तमू ल्होसार मनाउने भएको हो। परिषद्ले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी यही पौष १५ गते टुडिखेलमा तमू ल्होसार मनाउने जानकारी दिएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा रहने परिषद्ले जनाएको छ।
परिषद्का अध्यक्ष रेशम गुरुङले ल्होसार तमू समुदायको महत्वपूर्ण पर्व भएकाले त्यस दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्।
उनले भने, ‘तमू ल्होसार गुरुङहरुको महत्वपूर्ण पर्व हो। ल्होसारको दिन राज्यले कटौती गरेको सार्वजनिक बिदा पुर्नस्थापित गर्न सरकारसँग माग गर्दछौं। यो पर्व हाम्रो पहिचान भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न हामी जे पनि गर्न सक्छौं।’
कोरोनाको जोखिम कायमै रहेकाले सुरक्षाका उपायहरु अपनाउँदै ल्होसार मनाइने तमू ल्होसार मूल आयोजक समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले बताए। काठमाडौं महानगरपालिकासँग समन्वय गरेर हात धुने व्यवस्था मिलाउनुका साथै सबै स्टलहरुमा स्यानिटाइजर राख्न आह्वान गरिएको उनले बताए।
उनले भने, ‘हामीले मास्क तथा स्यानिटाइजर नहुनेका लागि उपलब्ध गराउने व्यवस्था पनि गरेका छौं। मेलामा हुने सबै स्टलहरुमा मास्कको अनिवार्य प्रयोग र स्यानिटाइजर राख्न पनि भनेका छौं।’
गुरुङ समुदायले तमू ल्होसारलाई नयाँ वर्षको रुपमा वर्षेनी मनाउँदै आएको छ। यस वर्ष ‘ल्वो ल्हो’ (गाई वर्ग) लाई बिदाइ गरेर ‘तो ल्हो’ (बाघ वर्ग) लाई स्वागत गर्न लागिएको परिषद्ले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।