काठमाडौं– नेपाल विद्युत प्राधिकरणले घरभाडामा बस्नेहरूलाई पनि छुट्टै विद्युत मिटर उपलब्ध गराउने भएको छ। उनीहरूले प्राधिकरणको छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने ऊर्जामन्त्री पम्फा भुसालले बताइन्।
अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने उनको भनाइ छ। यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित मन्त्री भुसालको विश्वास छ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले हरेक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन कार्ययोजना बनाइरहेको जानकारी समेत दिइन्। भुसालले यस्ता आयोजना बनाउँदा ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उल्लेख गरिन्।
निर्माणाधीन प्रसारण लाइन संरचना छिटो सम्पन्न गर्न अनुगमन तथा आवश्यक समन्वयलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले विद्युत् प्राधिकरण र राष्ट्रिय ग्रिड प्रसारण कम्पनीबीच समन्वय गरी प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माणलाई द्रुत गतिमा अगाडि बढाउँदै लगेको जानकारी दिइन्।
सिँचाइमा करिब ५० प्रतिशत विद्युत् महसुल घटाएको र थप केही महसुल सिँचाइ विभागमार्फत सिधै प्राधिकरणलाई भुक्तानी गर्ने गरी कृषकलाई सहुलियत दिने निर्णय गरेको मन्त्री भुसालले जनाइन्। उनले सरकारले विद्युत व्यापार कम्पनी खडा गरेको बताइन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापार कम्पनी खडा गरेको मन्त्री भुसालले जनाइन्।
मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत नभएकोले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत आयोजना बनाउने बताइन्। त्यसका लागि प्रदेश १ को दूधकोशी, गण्डकीको बूढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको मन्त्री भुसालले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।